दिनहुँको पहिरोले मध्यपहाडी राजमार्गमा सास्ती

अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा ४ दिन लाग्ने
पर्वत — दुई लेनमा स्तरोन्नति भइरहेको मध्यपहाडी (पुष्पलाल राजमार्ग) को पर्वत खण्ड अवरोध नभएको भए सम्पन्न हुने समय भइसक्यो । कोरोनाले गत वर्ष लामो समय काम रोकिएको सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले यही असार मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने योजना थियो ।
असारको सुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनीमात्रै नभएर सर्वसाधारण, यात्रुलगायत सबैले सास्ती खेप्नुपरिरहेको छ ।
सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुंगादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता पहिरो नखसेको कुनै दिन छैन । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलाका कारण सडक दैनिकजसो अवरोध हुने गरेको छ । मंगलबार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करिब ५० मिटर क्षतविक्षत बनाएपछि शुक्रबार साँझसम्म त्यहाँको सडक सहज सञ्चालनमा आउन सकेको छैन । भेलमा बगेका इन्जिनियर र चालकको अवस्था अज्ञात छ ।

निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई यतिबेला आफ्नो अर्बौंको ठेक्काको जिम्मा लिएका इन्जिनियर बेपत्ता भएको पीडा एकातिर छ भने अर्कोतिर दर्जनौं ठाउँमा खसेको पहिरो पन्छाएर राजमार्ग खुलाउने चुनौती उत्तिकै छ । ‘हामीले मुख्य व्यक्ति नै गुमाउँदा पीडा सहिसक्नुको छैन,’ लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडुले भने, ‘तर, त्यसो भन्दैमा सर्वसाधारणले दुःख पाउन भएन । भएभरको शक्ति लगाएर काम गरिरहेकै छौं । एकातिर खुलाउँदा अर्कोतिर समस्या आएको छ ।’ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा ४ दिन लाग्ने उनले बताए ।
मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो । यसको भरपर्दो वैकल्पिक मार्ग छैन । निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगैका पहिराले क्षतविक्षत हुँदा आउजाउ टुटेको छ । यो साताको सुरुदेखि नै रातदिन भीषण झरी परेपछि हिउँदमा पानीको थोपा नदेखिने खोल्साले समेत सडक क्षतविक्षत बनाएका छन् ।

दैनिकजसो घण्टौं सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् । ‘बिहीबार जसरी पनि पोखरा पुग्नु थियो,’ कुश्मा–१ पाङका विज्ञान मल्लले भने, ‘हिँडेर जान सम्भव भएन । दिनभर कतिबेला बाटो खुल्छ भनेर कुरें । राति अबेर हिँडेको फेरि चुवामा पहिरो खसेछ । कामै रोकियो ।’ पश्चिम बागलुङको बुर्तिबाङबाट बिरामी आमालाई उपचारका लागि पोखरा बोलाएकी प्रिती कुँवरले २ दिनसम्म पोखरा लैजान नसकिएको बताइन् ।

जिल्ला प्रहरीका डीएसपी शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताए । ‘दैनिकजसो फरक–फरक ठाउँमा पहिरो झरिरहेको छ,’ उनले भने, ‘सम्बन्धित निकायलाई भनेर हामीले सक्दो छिटो खुलाउने प्रयास गरिरहेकै छौं ।’ नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सहज सञ्चालन गराउन भने अझै केही दिन लाग्ने उनले बताए । बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस