नेप्से परिसूचक १ दशमलव २९ अंकले  घट्यो

सेवोनको एक विज्ञप्ति पछि ओरालो लाग्न थालेको शेयर बजार आज पनि तलै झरेको छ । साताको अन्तिम कारोबार दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन बुधवार २९६९.६९ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ९८२ दशमलव ९७ विन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २ हजार ९४५ दशमलव ५९ विन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २ हजार ९९० विन्दु कायम गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीहरुमा लगानी जोखिममा पर्न सक्ने चेतावनी पछि शेयर बजारको ओरालो यात्रा शुरु भएको हो ।
बिहीवार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधवार रू। १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएकोमा बिहीवार यो रकम रू। १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा खुम्चिएको हो ।

यस दिन २२३ ओटा कम्पनीको १ लाख २४ हजार ५६१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । मंगलवारदेखिनै सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले बिहीवार पनि निरन्तरता पाएको छ ।

उक्त कम्पनीको यो दिन रू। ७७ करोड ३७ लाख ३९ हजार बराबरको ४ लाख ८ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य पनि ३ दशमलव १२ प्रतिशत अर्थात प्रतिकित्ता रू। ५८ ले बढेर अन्तिम मूल्य रू। १ हजार ९१६ कायम भएको छ ।

सामान्य करेक्सन भएको बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

त्यस्तै होटल्स तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ४२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।

बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस