अध्यक्ष पुष्पकमल दाहाल फेरि संसद पुनर्स्थापना हुनेमा विश्वस्त

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’

प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उनले थपे, ‘यसलाई नेपाली जनताले सहने छैनन् । स्थानीय तहदेखि संसद विघटनको विरोधमा प्रतिवाद सुरु हुनेछ र अदालतमा पनि सशक्त बहस हुनेछ ।’

शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी रुपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यराति संसद विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ ।

उनले घोषित चुनाव देखाउनका लागि भएको दाबी गरे । ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रुपमा गरिएको चुनावको अर्थ छैन,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस