उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पार्नुभएको छ । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताउनुभयो ।
पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उहाँले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्रलाई पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गर्नुभयो । “पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ”, उहाँले भन्नुभयो ।
ग्यास बिक्रेतालाई व्यवसाय सञ्चालनका क्रममा परेको अप्ठ्यारा हल गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि छलफल गर्न आग्रह गर्नुभयो । “भर्खरै प्रतिनिधिसभा पुनःस्थापना भएको छ, कतिपयले अब वर्तमान सरकार रहँदैन भनेका छन् तर नेपालको राजनीति पुस ४ गतेको अवस्थामा पुगेको छ”