बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक सुरू

काठमाडौं,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकसँग बाझिने गरी मन्त्रिपरिषदको बैठक बोलाएका थिए । तर, त्यसपछि भएका छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेपछि बैठकमा ओली पनि सहभागी भएका हुन् ।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए ।

स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ । नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस