
काठमाडौं, भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका एक चिकित्कसलाई कारबाही गरेको छ भने एक जनालाई स्पष्टीकरण सोधेको छ ।
काउन्सिलले डा. सिंहको उपचारमा संलग्न आँखा, कान, घाँटी, नाकका चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ नपाउने गरी कारबाही गरेको छ ।
इसोफिजिएल इन्डोस्कोपीको तालिम लिएको प्रमाण पेस गरेपछि मात्रै डा. तुलाचनला एक वर्षपछि काम गर्न दिने निर्णय गरेको छ । २५ भदौमा डा. तुलाचनलाइे काउन्सिलले पत्र पठाएको हो ।
डा. तुलाचनले उपचारका गर्दा प्रक्रिया नअपनाएको, बिरामी पक्षलाई सबै जानकारी नगराएको र उपचारको कागजात दुरुस्त नराखेको काउन्सिलको ठहर छ ।
उपचारका क्रममा निधन भएका डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही भएको भन्दै मेडिकल काउन्सिलले युनिभर्सलका डा. विश्व तुलाचनलाई कारबाही गरेको छ भने एनेस्थेसिया चिकित्सक लक्ष्मी पाठकलाई विनास्वीकृति तस्बिर र भिडियो अपलोड गरेकोमा स्पष्टीकरण सोधेको छ ।
त्यस्तै, उपचारमा संलग्न अर्का चिकित्सक लक्ष्मी पाठकले डा.सिंह र उनको परिवारको स्वीकृति नलिई उपचार गरिरहेको भिडियो, तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक खेलबाड गरेको र बिरामीलाई उपयुक्त समयमा काउन्सिलिङ नगरेको काउन्सिलले जनाएको छ ।
‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट, २०१७’ अनुसार किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । डा.पाठकलाई निषेधाज्ञा खुलेको दुई हप्ताभित्र काउन्सिलमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।
उपचारमा संलग्न चिकित्सकमध्ये एक जनाको कुनै गल््ती नभएको काउन्सिलले जनाएको छ ।
१० वर्षदेखि अर्थोपेडिक्स सर्जन एवं अर्थोपेडिक्स विभाग प्रमुखका रूपमा कार्यरत डा. ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा १० भदौ ०७६ मा खाना खाने खादा हड्डी अड्किएको थियो ।
डा. सिंहले काम गर्ने युनिभर्सल अस्पतालमा उपचारका लगियो । ११ भदौमा घाँटीबाट हड्डी झिकिएको भनेर उपचारमा संलग्न चिकित्सकले डा. सिंहको परिवारलाई जानकारी दिएका थिए ।
उपचारमा संलग्न चिकित्सकले‘आधा हड्डी झिक्यौं, आधा धकेलेर पेटमा पुयायौं भनेका थिए,’ डा. सिंहका छोरा प्रज्ज्वल सिंहले भने । त्यसको पाँचौं दिन उनलाई बान्ता हुन थाल्यो, ज्वरो आयो ।
उनको अवस्था बिग्रन थालेपछि परिवारले सिटिस्क्यान गर्र्नुपर्ने माग राखे । ‘सिटिस्क्यानमा पेटमा धकेलियो भनिएको हड्डी त घाँटीमै रहेको देखियो,’ प्रज्ज्वलले भने । त्यसपछि परिवारका सदस्यलाई जानकारी नै नदिई डा। सिंहलाई आइसियूमा सारियो ।
‘उहाँलाई किन आइसियूमा राखेको भन्दै हामीले प्रश्न गरेपछि अस्पतालले काठमाडौं लानुपर्छ । एक–दुई दिनमा ठीक हुन्छ भन्दै हेलिकोप्टरमा काठमाडौं पठायो,’ डा. सिंहकी पत्नी विना सिंहले भनिन् ।
१५ भदौमा डा. सिंहलाई काठमाडौंको मनमोहन अस्पतालमा ल्याइयो । उनको अवस्था गम्भीर भइसकेको थियो । रेफर पत्रमा युनिभर्सल कलेजले छातीको अत्यधिक दुखाइका कारण डा. सिहलाई काठमाडौं रेफर गरिएको लेखेको थियो । तर, मनमोहन अस्पतालले भने घाँटीमा अड्किएको हड्डी धकेल्ने र झिक्ने क्रममा लापरबाही भएको बतायो ।
त्यही लापरबाहीका कारण खानाको पाइप च्यातिएको र संक्रमण भएको पुष्टि भयो । मनमोहन अस्पतालमा हड्डी निकाले पनि अवस्था ठीक नभएकाले च्यातिएको पाइपको शल्यक्रिया तीन महिनापछि मात्रै गर्न सकिने चिकित्सकले बताए ।
त्यसपछि आइसियूमा राखिएका डा. सिंहको २ माघ ०७६ मा शिक्षण अस्पतालमा मृत्यु भयो ।
उनको मृत्युपछि परिवारले ९ साउन ०७७ र २० भदौमा युनिभर्सल कलेजलाई क्षतिपूर्ति र सुविधाबापतको रकम माग गरेर निवेदन दिए । परिवारले क्षतिपूर्तिका लागि दिएको निवेदनमाथि कलेजले सुनुवाइ नगरेपछि १८ भदौमा गृह मन्त्रालय र २२ भदौमा स्वास्थ्य मन्त्रालयमा निवेदन दिए ।
पाँच महिना आइसियूमा राख्दा मात्रै ७० लाख रुपैयाँभन्दा बढी खर्च भएको परिवारले बुद्ध सन्देशलाई बताए । ‘गत वर्षको भदौदेखि आफन्तको घरमा बसेका छौं । बुबाको मृत्युपछि त हाम्रो बिचल्ली भएको छ,’ प्रज्ज्वलले भने, ‘त्यही अस्पतालमा १० वर्ष काम गर्नुभयो । त्यहीँका डाक्टरको लापरबाहीले बुबाको मृत्यु भयो । क्षतिपूर्ति, सुविधा माग्दा हाम्रो फोन नै उठाउँदैनन् ।’