बैठक स्थगित अनुचित प्रचण्ड नेपाल पक्षका स्थायी सदस्यहरुको निष्कर्ष

काठमाडौ ÷नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको आज बैठकले ओलीले एकलौटी ढंगले बैठक स्थगित भएको सूचना प्रवाह गर्नु अनुचित भएको निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिनै बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको हो । स्थायी समिति सदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् ।


यसअघि नै स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अध्यक्ष ओलीले वैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल—नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए । आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’ प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ—आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । बैठकमा निर्णय गर्नुअगाडी अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेपनि ओलीले अस्वीकार गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले आगामी बैठकको मिति तय नभएको बताए । पार्टी एकताको रक्षा गर्दै केन्द्रीय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पनि श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस