शुक्रबारदेखि नेपाल आगमनमा प्रतिबन्ध

काठमाडौं÷कोरोना भाइरस (कोभिड–१९) त्रास बढेपछि प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा सरकारले रोक लगाउने भएको छ । मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो ।


समितिको बैठकपछि जारी विज्ञप्तिमा अनुसार ‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाईने भएको छ । ‘ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य राती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाईनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने लगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ ।
बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।