रुष्ट फकाउन ओलीको डिनर डिप्लोमेसी ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज आयोजना गरे।

साँझ ६ देखि करिब ९ बजेसम्म चलेको भोजमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल साँझ ७ बजेतिर मात्रै पुगे। नेपाल पुगेपछि ओलीका छेउमा बसिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिट छाडिदिए।

ओली र नेपाल नजिकिए। ६-७ वटा व्यक्तिगत निमन्त्रणाका बाहिरी भोजहरु सकेर बालुवाटार पुगेका नेपालले खानामा उति रुचि देखाएनन् तर उनलाई लालमोहन मनपर्छ भन्ने थाहा पाएका ओलीले हलुवा र लालमोहन ल्याइदिन आग्रह गरे।

नेपालले मिठो मानेर खाए। ठूल्ठूलो स्वरमा गीत बजिरहेकाले के भलाकुसारी भयो भनेर भोजमा सहभागी अरुले सुन्न सकेनन् तर उनीहरुबीच निकैबेर कुरा भयो। गत कात्तिक अन्तिम साता झन्डै दुई घण्टा छलफल गरेयता ओली र नेपालबीच सौहार्दपूर्ण रुपमा संवाद भएको देखिएको टिप्पणी त्यहीँ पनि भएको थियो।

प्रधानमन्त्री ओली रात्रिभोजमा धेरैबेर बसे, नेपालसँग मात्रै होइन, अरु नेता र कार्यकर्तासँग पनि संवाद गरे, हात मिलाए र फोटो खिचाए। खासखास अवस्थामा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रम आयोजना गरेर आफूसँग भड्किएका नेता कार्यकर्तासँग दुरी घटाउने कोसिस गरेका नजिर थुप्रै छन्।

त्यस्ता खास अवस्था के हुन् त ? ओली निकट एक नेता भन्छन्, ‘पार्टीमा आफू कमजोर भएका बेला, पार्टीभित्रको अर्को गुट सलबलाएका बेला र बनिरहेको अर्को कुनै समीकरण भत्काउनुपरेको बेला उहाँले डिनर डिप्लोमेसी अपनाउनुहुन्छ।’ – कान्तिपुर दैनिक