अमेरिकी दूतावासद्वारा परराष्ट्र र गृहमन्त्रालयलाई किन यस्तो दबाब ?

नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ।

दूतावासले परराष्ट्र हुँदै गृहमन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटक-पटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाब दिएको हो।

दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छोजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको थियो।

गृहमन्त्रालयस्थित उच्च स्रोतका अनुसार दूतावासको पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन उल्लेख थियो। गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमति पत्र दिन इन्कार गरेको छ।

गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई। म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमति पत्र जारी गरिदिन दबाब दिएका हुन्।

तिब्बतलाई चीनको अभिन्न अङ्गका रुपमा अंगीकार गर्दै आएकाले राष्ट्रियता ‘तिब्बतियन’ भएको कागजातलाई नेपालले कुनै प्रकारको हैसियत प्रदान गर्दैन । यसैले अमेरिकी दूतावासको प्रस्ताव सरकारले कार्यान्वयन गर्न नमानेको हो ।

प्रतिक्रिया दिनुहोस