सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने ?

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ।

केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्यमा सिंगो पार्टी पंक्ति र सरकारी पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शनिबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सानातिना विषयमा आग्रहपूर्वाग्रहमा अल्झिँदा समाजवादको महान् लक्ष्य पूरा गर्न कठिन हुने भन्दै पूर्वाग्रह बिर्सेर समाजवाद स्थापनाको लक्ष्यमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेस गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव प्रस्तुत गरेका छन्। राजधानी दैनिक