गत शनिबार काठमाडौं डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेका बेला कलाकार दीपक क्षेत्री परलोक भए। एक समय थियो जतिबेला दीपक नेपाली फिल्मका लोकप्रिय ‘भिलेन’ थिए।
‘डाइलग डेलिभरी’ गर्ने उनको शैली र स्वरको धेरैले प्रशंसा गर्थे। तर, घाँटीमा क्यान्सर देखिएपछि उनले त्यही स्वर गुमाए। उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन्। तीमध्ये केही हुन्, ‘मसान’, ‘जीवनदान’, ‘सिमाना’, ‘राज्जारानी’, ‘झोला’, ‘सेतो सुर्य’, ‘छ माया छपक्कै’।
आज उनको निधन भएको ठ्याक्कै पाँच दिन पुग्यो। दीपकका पुराना र प्रिय साथी– कलाकार, निर्माता एवम् निर्देशक अशोक शर्माले नेपाललाइभकर्मी अनिल यादवसँग दीपकसँगका ती संघर्षका दिनहरु यसरी सम्झिए:
त्यस्तै २०४०/०४१ सालतिर हुनुपर्छ, फिल्म क्षेत्रमा प्रवेश गर्न म काठमाडौंमा संघर्ष गरिरहेको थिएँ। त्यहीक्रममा एकपटक भोटेबहालमा दीपकसँग मेरो भेट भएको थियो।
त्यतिबेला ऊ पनि यहाँ कलाकारकै रुपमा संघर्ष गरिरहेको थियो। भेटघाटपछि हामी निकै नजिकियौँ। सँगै नाटक खेल्न थाल्यौँ। एकदमै मिल्ने साथी भयौं। करीब चार वर्ष हामी एउटै घरमा डेरा लिएर बस्यौं। संघर्षका बेला सुख दुःख सबै सँगै बाड्यौँ।
उसको भ्वाइसको क्वालिटी एकदमै राम्रो थियो। ‘टल एन्ड ह्यान्डसम’ पनि थियो। अभिनय जीवन्त गर्थ्यो। कलाकारमा हुनुपर्ने गुण उसँग प्रशस्त थियो।
हामी कलाकार बन्न रातदिन संघर्ष गर्थ्यौं। निर्देशककहाँ धाउने, फिल्ममा काम माग्ने काम हामी सँगै गर्थ्यौं। पछि म निर्देशक भएपछि त मेरा केही फिल्ममा उसले अभिनय पनि गर्यो। ‘निरमाया’ मलाई याद छ। मेरो यो फिल्ममा उसको मेजर रोल थियो।
त्यतिबेला दीपक भन्थ्यो, ‘म बम्बईमा पाँच वर्ष संघर्ष गरेपछि नेपाल आएको हुँ।’ बलिउडमा जति ट्राइ गरे पनि केही नलागेपछि हार खाएर ऊ नेपाल आइपुगेको अवस्था थियो। मसँग भेट हुँदा ऊ त्यस्तै २१–२२ वर्षको थियो।
एकदमै मिजासिलो र मिलनसार स्वाभावको थियो। झगडा फिटिक्कै गर्दैनथ्यो। हामी जोक निकै गर्थ्यौं। खुब हाँस्थ्यौँ। हामीले नखाई-नखाई सुतेका धेरै रात छन्।
मलाई अझै याद छ, प्रायः जसो नाटकमा काम गर्दा रात पर्थ्यो। त्यसपछि हामीलाई खाना खान कहाँ जाने भन्ने चिन्ता हुन्थ्यो। एउटा इन्द्र दाइको पसल थियो, जहाँ हामी ढोका ढक्ढक्याउथ्यौं, उहाँले खोल्दिनुहुन्थ्यो, अनि हामी खान्थ्यौँ। यस्ता धेरै मिठामिठा पल छन, जुन हामीले सँगै बाँच्यौं।
दीपकको सबैभन्दा कमजोर पक्ष के थियो भने ऊ रक्सी धेरै पिउँथ्यो। हुन त म पनि त्यतिबेला पिउँथें। तर, यो चिजले अघि बढ्न दिँदैन भन्ने महसुस भएपछि मैले केही समयपछि छोडिहालेँ। तर, उसले छोड्न सकेन। म आज पनि भन्छु, उसको करिअर बिग्रनुमा रक्सीको ठूलो हात छ।
मैले उसको रक्सीको लत छुटाउन अनेक प्रयत्न नगरेको होइन। दुई तीनपल्ट छोडेको पनि हो उसले। रक्सी छोड्नेबित्तिकै उसको शरीर तुरुन्तै रिकभर हुने खालको थियो। अनुहार उज्यालो भइहाल्थ्यो। तर जब सुटिङका क्रममा हामी छुट्टिन्थ्यौँ, त्यतिबेला फेरि उसले खान सुरु गरिहाल्थ्यो।
जे होस्, मैले रक्सी छोडिसकेपछि उसले मेरो अनुरोधमा तीनचारपल्ट रक्सी छोडेकै थियो। तर मेरो अनुपस्थितीमा खाइहाल्थ्यो।
रक्सी किन खान्थ्यो? किन छोडेन? त्यसको ठ्याक्कै जवाफ त मसँग पनि छैन। तर शायद ‘फ्रस्ट्रेसन’ पनि हो कि जस्तो लाग्छ। त्यतिबेला जति फिल्म खेले पनि पैसा खासै आउँथेन। जति पैसा आउँथ्यो, त्यसले केही गर्न पनि पुग्थेन।
मेरो आर्थिक स्थिति राम्रो भएपछि उसलाई केही समस्या पर्याे कि मकहाँ आइहाल्थ्यो। तर, संघर्षका बेला त मेरोभन्दा उसको स्थिति राम्रो थियो। अन्नपुर्ण होटलमा जागिर पनि गर्थ्यो। त्यहाँ उसले टेलिफोन अपरेटर हुँदै वेटरसम्मको काम गर्यो। त्यतिबेला मेरो जागिर थिएन। मलाई खर्च दिने काम पनि उसैले गर्थ्यो।
फिल्ममा काम खोज्न जाँदा पनि उसले बरु चान्स पाउँथ्यो, मैले पाउँदिन थिएँ। ऊ त्यस्तो क्षमतावान र प्रतिभावान थियो कि जहाँ जसलाई भेट्न जाँदा पनि निर्देशकको पहिलो नजर उसमै पर्थ्यो।
धेरैपटक मैले उसलाई सम्झाएँ, तर उसले आफ्नो जीवनलाई कहिल्यै पनि गम्भिरतापूर्वक लिएन। उसँगको मेरो अन्तिम भेट दुई महिनाअघि भएको थियो। अफिसमै आएको थियो। ‘अब म निको भएँ, फिल्म भए मेरो लागि पनि हेर है’ भन्थ्यो। त्योभन्दा अघि ऊ असाध्यै बिरामी भएका बेला म डेरामै गएको थिएँ। ‘अलिकति पैसा सहयोग गर है’ भनेको थियो। मैले गरेको पनि थिएँ।
त्यसपछि फोनमा कहिलेकाँही कुरा हुन्थ्यो। ‘म आउँछु है तेरो’मा भन्थ्यो। फेरि आउनचाँही आउँदैनथ्यो।
‘रातो टीका निधारमा’का बेला पनि ‘रोल छ भने भन है’ भनेको थियो तर उसलाई सुहाउने भूमिका थिएन। त्यसैले मैले त्यतिबेला उसलाई फिल्ममा राख्न सकिनँ।
तर, त्यतिबेला मलाई भेट्न आउँदा पनि ऊ पूर्णरुपमा ठिक भएको महसुस मलाई भएन। पुरै गलिसकेजस्तो लाग्थ्यो। गहिरिएर हेर्ने हो भने ‘छ माया छपक्कै’मा उसको त्यो अवस्था झल्किन्छ पनि।
दुई महिनाअघिकै भेटमा मलाई मनमनै लागेको थियो, ‘अब यो धेरै बाँच्दैन होला।’उसलाई मैले गाली पनि गरेको थिएँ, ‘जति भने पनि तँ कहिल्यै सुध्रिनस् है।’
बिरामी हुँदा पनि उसले आफूलाई खासै केयर गरेजस्तो मलाईचाँहि लागेन। हुन त त्यसका पछि अन्य थुप्रै कारण थिए होलान्, जुन उसले मसँग पनि व्यक्त गरेन।
संघर्षका बेला धेरै अभावै–अभावको जीवन हामीले सँगै बितायौँ। म त्यो अभावको जीवनबाट मुक्त भएर अगाडि बढ्न सकेँ, तर ऊ सधैँ पछि नै रह्यो। म आर्थिक रुपमा सबल हुँदा पनि उसले आफूलाई सुधार्न सकेन।
मैले उसलाई सधैँ भन्थेँ, ‘जीवन भनेको अगाडि बढ्नलाई हो, अगाडि बढ्नुपर्छ।’ तर, जीवनलाई उसले कहिल्यै ‘सिरियस्ली’ लिएन।
एकदमै ‘माइ डियर’ मान्छे थियो। रक्सी खाएर झ्याप हुँदा पनि ‘ओइ गीत गा’न’ भन्दा गाइदिन्थ्यो। स्वर पनि निकै राम्रो थियो। खाली नारायण गोपालको गीत गाउँथ्यो। कहिले गाउँथ्यो, ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’ त कहिले गाउँथ्यो– ‘आज भोलि हरेक साँझ मातिन थालेछ…’
मलाई लाग्छ, उसले आफूलाई कहिल्यै माया गरेन तर सधैँ अरुलाई गरिरह्यो। आफैंले आफैंलाई बिझायो तर अरुलाई चिढ्याउने, बिझाउने काम कहिल्यै गरेन।
आइ विल अल्वेज मिस हिम! ###क्षमतावान थियो तर रक्सीले सिध्यायो’ ###