स्थानीय तहमा तत्काल बैंक पुर्याऊ–अर्थमन्त्रि डा.खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।
कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै देशमा संघीयता कार्यान्वयनको क्रममा रहेकाले स्थानीय तहहरुमा बैंकहरु स्थापनाहुन पर्नेमा जोड दिएका छन् । अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा सञ्चालन नेपाल राष्ट्रबैकलाई ताकेता गरेका छन् ।


मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाइ गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले मुलुकमा व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएका थिए । उनले इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुरअन्तर्गत कडा कारबाही गर्ने चेतावनी पनि दिए ।