देश फर्कने चाहना !

नजिकै आएर बहिनीले सोधिन् — “दाइ तपाईँ पनि यही लाइनमा हो र ? ” ‘‘होइन, मेरो साथी चाहिँ लाइनमा हुनुहुन्छ फिनान्स भर्नाको लागि’’ मैले जवाफ फर्काएँ ।


पहिलो पटक देखेको भए पनि उनले पहिल्यै चिनजान भएजस्तो गरी सोधिन् । मान्छे फरासिली र बोलक्कड रहिछन् । लिस्वनको लारन्जरेसमा विभिन्न कागजात बनाउन टोकन लिन पालो कुरेर बस्ने सयौंमा कोही न कोही नेपाली त सधैँ भेटिने नै गर्छन् ।  

बिहानै पनि उनी थकित देखिएकी थिइन् । मैले सोधिहालेँ — “ बिहानमा पनि काम थियो कि के हो ? “ 

‘‘होइन हिजो राति ९ बजेसम्म काम थियो बिहानै उठेर यता आउँदा निद्रा नपुगेर होला ।’’ 
बिहान आठ बजे अफिस खुलेपछि हामीभन्दा केहीपछि साढे आठ बजेतिर उनले पनि टोकन लिइन् । साथी नयाँ भएकाले उसको सहयोगका लागि म पनि बस्नुपर्ने नै थियो । अब नम्बर हेर्दै पालो कुर्नेमात्र काम थियो । यत्तिकैमा मैले सोधेँ — ‘‘कति भयो पोर्तुगल आउनुभएको ? सिधै आउनु भएको हो कि अरु देश भएर ?’’ उनले जवाफ फकाइन् — “ डेनमार्क दुई वर्ष बसेर आएको हो, यता आएको १० महिना पुग्न लाग्यो । अहिले यताको लागि डकुमेन्ट तयार गर्दै छु ।”  म आफू पनि २ वर्ष डेनमार्क बसिसकेकाले  डेनमार्क राम्रो भएको आशयसहितको जिज्ञासा राखेपछि उनले त्यहाँको भोगाइ बताइन् । विद्यार्थी भिसामा आएकी बहिनीले एक्लै बस्दाको समस्या पीडा र कमाएको पैसा कलेज फी तिर्दा नै सकिने बाध्यताको लामो कहानी सुनाएपछि  भनिन् —  “न खानाको ठेगान छ, न सुत्नको, कलेज र कामभन्दा नै महिना बित्ने” । केही कमाउने र पढ्नेसहितको सोचमा युरोप यात्रा तय गरेकी उनले कतिसम्म दुःख पाइन् कति पटक घरभाडा समयमा दिन नसक्दाको घरवेटीको कर्कश खप्कीदेखि कलेजको फी समयभित्र चुक्ता गर्नुपर्ने नत्र ‘टर्मिनेट’ गरिदिने चेतावनी । महिनाको ८० घन्टासम्म विद्यार्थीले वैधानिकरुपमा काम गर्न पाउने भए पनि पढाइको चाप र समय व्यवस्थापनको अभावले कुनै कुनै महिना त त्यो ८० घन्टा पनि उनले काम गर्न सकिनन् । वर्षमा पूरा समउ काम गर्न पाइने जुन, जुलाई र अगस्टको कमाइले बल्लतल्ल कलेजको फी चुक्ता गर्न सकेको गुनासो पोखिन् । कति काम,  १, २ दिन गरेपछि गर्न नसकेर छोड्नु परेको तितो यथार्थदेखि हिउँदमा जाडोको माइनस डिग्री चिसोमा गोडाले हिऊ पन्छाउँदै बिहानै रेस्टुराँ सफा गर्न गएको भोगाइ ताजै रहेछ उनको । “यस्तो अनुभव त कति छ कति दाइ । भन्ने हो भने दुई दिनमा ’नि सकिँदैन होला ।” मलिन हाँसो हाँस्दै भनिन् ।  

उनको वास्तविकता बताउने शैलीबाट म छोटो समयमा नै प्रभावित भएको थिएँ । किनभने डेनमार्कमा रहँदा मैले देखेको विद्यार्थीको वास्तविक भोगाइलाई उनले यथार्थरुपमै बताइरहेकी थिइन् । यत्तिकैमा मैले फेरि जिज्ञासा राखेँ — “उसो भए यता चाहिँ ठीक लाग्यो त ?”  “ विदेशको जिन्दगी यताउता सबै उस्तै हो दाइ । यता पढ्न नपर्ने भएकाले केही लोड कममात्र हो तर कामको रुटिन धेरै गाह्रो छ, पैसा कम छ । उता कमाएको कलेजमा तिर्दा ठिक्क यता खाँदा बस्दैमा सकिने ।” यस्तो कठिन हुँदाहँुदै पनि आउनुको कारण सोध्दा उनलाई पनि अरु धेरैलाई जस्तै युरोप अमेरिका छिरेपछि त जसरी पनि कमाइन्छ भन्ने भ्रम भएको बुझ्न गाह्रो भएन । डेनमार्कभन्दा अगाडि दुईपटक अमेरिकाको भिसा आवेदन दिएकी बहिनीले अमेरिकाले ‘रिजेक्ट’ गरेपछि युरोपको यात्रा तय गरेकी रहिछन् । कन्सलटेन्सीले विदेशको वास्तविकताभन्दा धेरै कमाउन सकिने सपनामात्र बाँड्ने, अभिभावकले वल्लोपल्लो घर धेरै छिमेकीका छोराछोरी बाहिरै ‘सेटल’ भएका बाबुआमाको बेग्लै रवाफ देख्ने र किशोरकिशोरी कमाइसँगै विदेशको खुला जीवनको कल्पना गर्ने प्रवृत्तिले धेरैलाई युरोप अमेरीका हुत्तिने रहर जाग्नु सामाजिक प्रवृत्ति नै बनिसकेको छ । 

मैले यस्तो सोची रहँदा बहिनीले थपिन् — “दाइ आफैँ नमरी स्वर्ग देखिँदो रहेनछ भनेको सही रहेछ, यस्तै जीवन हुन्छ भन्ने लागेको भए त कुनै हालतमा आउने थिइन । डेनमार्कमै हुँदा कैयौं पटक त फर्कने कोसिस गरेँ तर के गर्नु त्यति धेरै लगानी गरेर आएको छु, बुवाममीले पनि बिस्तारै बानी पर्छ मात्र भन्दै यतै ‘सेटल’ भइदिए हुन्थ्योजस्तै गर्नु भयो । अनि फर्कने मन भए पनि आँटै गर्न सकिन । अझ ठूलो कुरा त आउँदा भएको लगानीकै थियो नि ”। सायद सबै यथार्थ पहिल्यै भनिदिने मान्छे कोही हुन्थ्यो भने व्यवस्थापन विषयमा ब्याचलर सकेकी उनी दुःखको यो पहाड झेल्न युरोपका लागि गुन्टा कस्ने थिइनन् होला । उनको भनाइले पनि यो बुझन गाह्रो थिएन ।  

किशोरावस्था नै हो लहैलहैमा त जो पनि लाग्न सक्छ नि यस्तो बेला जानेको भनिदिने  र सम्झाउने मुख्य जिम्मेवारी अग्रज र अभिभावकको नै हो । उनी हामीसँग कुरा गर्न पाउँदा र आफना भोगाइ सुनाउन पाउँदा पनि केही सन्तोष भएजस्तो गरिरहेकी थिइन् । उनलाई मैले गर्नसक्ने त केही थिएन तर ढाडस दिँदै भने — “ ‘टेन्सन’ नलिनुस् बिस्तारै सबै ठीक हुँदै जान्छ, सबैले तपाईँले जस्तै संघर्ष गरेका हुन्छन यहाँ, धैर्य चाहिन्छ, तपाईँ आखिर आई त हाल्नु भयो ” । उनलाई कुरा ठीकैजस्तो लागे पनि आएकोमा भने पश्चताप थियो भन्ने बुझ्न गाह्रो थिएन । स्वदेश फर्किहाल भन्ने आँट ममा पनि थिएन किनभने दुई तीन वर्षसम्म पढाइ र सेटल हुन समय र पैसा खर्च गरेकी उनलाई रित्तो हात त्यो पनि युरोपबाट नेपाल फर्किहाल भन्नु मेरो मूर्खता ठानिने थियो । सायद देशमा अवसरको समुचित बाँडफाँट र योग्यता, क्षमताको कदर हुन्थ्यो भने धेरै नेपाली स्नातक र स्नातकोत्तर पढाइ सकेर महाराजगन्जको अमेरीकी दूतावास र लगनखेलको भीएफएस अफिस अगाडि अन्तर्वार्ताको पालो कुरेर लाइनमा बस्ने थिएनन् होला ।

कति थाहा पाएरै त कति भ्रम पालेर अमेरिका युरोप हानिनेको संख्या धेरै छ देशमा । म उनको प्रत्येक जवाफसँगै केही न केही सोच्न विवश हुन्थेँ । हामी गफिन थालेको डेढदुई घन्टै पुगि सकेको थियो । त्यसैले मैले उनलाई सम्झाएँ — “बहिनी, अब त तपाईँको पालो आयो कि यतिका समय भइसक्यो ।” फटाफट अलिक अगाडि भएको डिजिटल बोर्डतिर हेर्दै भनिन् — “छैन दाइ, अझ ५० जनापछि आउँछ । भर्खर ९८ पुगेको छ ।” युरोप भएर पनि कस्तो सबै ठाउँमा लाइन बस्नुपर्ने सर्भिस त नेपालकै जस्तो छ है यहाँ पनि भन्दै गुनासो पनि गरिन् ।

अझै केहीबेर नै कुर्नुपर्ने भएपछि चिसो खाने सल्लाह भयो । कहिले हाम्रोे गफ सुन्ने त कहिले पार्कमा यताउता टहलिने गरेका साथी सोहनको भने अब पालो आइसक्नै लागेको थियो । चिसो सकेर हामी दुई फिनान्स अफिसमा गयौँ । काम सकेर बाहिर फर्किंदा बहिनी त्यही मेचमा सायद हामीलाई नै पर्खेर बसिराखेकी थिइन् । हामीले जाने संकेत गरे पनि बहिनीले केही क्षण बसेर सँगै जान पाए हुन्थ्यो जस्तो भाव प्रकट गरेपछि मैले साथीलाई केही समय कुर्ने संकेत गरेँ । 

‘‘ए साँच्चै,  तपार्इँको नेपालको घर चितवन भन्नुभयो होइन ? चितवन त हिजोआज चर्चा नै चर्चामा छ हगि’’ भन्दै मैले कुरा बढाएँ । उनले भने मलाई बीचैमा रोक्तै एकैसाथ केही प्रश्न गरिन् — ‘तपार्इँ यता आउनु भएको कति भयो ? डेनमार्क कति बस्नु भयो ? नेपालमा के गर्नुहुन्थ्यो ?’’ मैले छोटकरीमा सबै प्रश्नको जवाफ दिएपछि उनले  हाँस्दै भनिन् — ‘‘तपार्इँ पत्रकारिता गर्ने मान्छे मसँगको कुरा त लेख्नु हुन्न होला नि ?’’ म भने उनीसँग यही अनुमति लिन चाहन्थे । ‘‘अनुमति दिनुहुन्छ भने म तपाईँको भोगाइका बारेमा लेख्न चाहन्छु । मैले यसो भन्नेबित्तिकै उनले आफनो नाम नराख्ने गरी लेख्न सहमति जनाइन् । डेनमार्कको भोगाई त  अञ्जलीले (नाम परिवर्तन ) पहिले नै बताई सकेकाले  मलाई उनको पोर्तुगलको जिन्दगी जान्न मन लाग्यो ।  

‘‘अहिले यताको काम चाहिँ कस्तो चलिराखेको छ ? “ 

‘‘अहिले त एउटा प्याकेजिङ कम्पनीमा काम गर्छु । दिनको १० घन्टा जति गर्नुपर्छ । बिहान सात बजे उठ्यो खाना तयार गर्यो, आठ बजे काममा पुग्नुपर्छ । बाह्र बजे खाना खाने टाइम हुन्छ । कुनै दिन भने दिउसो १२ बजेबाट रातिसम्मको सिफ्टमा काम गर्ने गरेको  छु ।”  
‘‘कमाई कस्तो छ त ?’’ 

अञ्जलीले अलिक अन्कनाउदै भनिन् — “ के कमाइ छ भन्नु र दाइ !  नेपालबाट डेनमार्क आउँदाको क्रण अझै चुक्ता गरेको छैन । त्यही ७ सय युरो हुन्छ । खानबस्न तीन सय देखि तीन सय पचाससम्म खर्च हुन्छ । बच्ने त्यही तीन सय हो । त्यो भनेको नेपालको ३५ देखि ४० हजार नै त हो नि ।” 

साँच्चै १५ देखि २० लाख खर्च गरेर अझ अवैध बाटो भएर नेपाली युवा किन ज्यान नै जोखिममा पारेर यत्ति कमाइका लागि युरोप छिर्न खोज्छन् ? राज्यले अवसर दिन नसकेर हो या युवा पंक्तिमा अनावश्यक विदेश मोह बढेर हो ? 

उनले थपिन् — “तर, यो काम पहिलाको भन्दा सजिलो छ, सुरुमा त खेतमा टन्टलापुर घाममा काम गरेँ नि तीन महिनासम्म । टनेल मुनि ३०—३५ डिग्रीको तापक्रममा रसबेरी टिप्दा कति पटक त बेहोस हुन्छु जस्तो बनाउँथ्यो ।   टार्गेट पुर्याएन भने ठेकेदार साहु रिसाएर कति बेला कामबाट निकाल्ने हो पत्तै हुदैन्थ्यो । युरोप भन्नुमात्र हो दाइ काम गाह्रै छ तर पनि त्यो रसबेरीको भन्दा यो त धेरै सजिलो छ” । 

मलिन मुद्रामा फिस्स हाँस्दै उनले भनिन्  — “नेपालीको बुद्धि पछि आउँछ भनेको सही हो कि जस्तो लाग्यो । त्यती लगानी नेपालमै गरेको भए पनि अहिले त उतै राम्रैसँग सेटल भइसकिन्थ्यो होला ।’’ 

उनलाई  यता आएकोमा पछुतो बढी र खुसी कम थियो । यता आउँछु भन्ने कतिलाई त उनले सबै यथार्थ बताएर नआउन सल्लाह पनि दिएकी छन् रे ।  विद्यार्थी भिसामा बिना सीप पैसा कमाउँछु भनेर विदेश नजाँदा नै राम्रो हुने उनको सुझाव छ । यत्तिकै व्यवस्थितरूपमा यसरी नै दुःख गरे देशमै पनि धेरै गर्न सकिन्छ भन्ने उनलाई लाग्दो रहेछ । 

कामको कुरा छोडेर अचानक मैले सोधेँ — “बिहे गरेर आएको भए सजिलो हुनेथियो नि !  किन एक्लै आउनुभएको ?” मैले प्रतिप्रश्न गर्नै नसक्ने गरी  जवाफ फर्काइन् — “ बिहे हतारमा गरेर फुर्सदमा पछुताउने कुरा होइन रहेछ दाइ ! तत्काललाई कमाइ हेरेर केही सहजजस्तो देखिए पनि उमेर, योग्यता र परिपक्वता नभई गरिने बिहे दिगो पनि नहुन सक्छ र उज्ज्वल भविष्य बनाउन सकिँदैन । मैले धेरै दुःख भोगे पनि युरोपियन महिला साथीहरुबाट यो कुरा चाहिँ राम्ररी सिक्न पाएँ ।” 

डिजिटल बोर्ड हेर्दै उनले भनिन् — ‘‘दुई जनापछि रहेछ दाइहरु यहाँ बस्दै गर्नुस् म काम सकेर आइहाल्छु, अनि सँगै जाउँला ।’’ 

लारन्जरेसदेखि रोसियोसम्मको मेट्रो यात्रामा उनले भनिन् — “नेपाल छोडेको पनि तीन वर्ष पुग्न लागि सक्यो । अब टेम्पोरेरी रेसिडेन्सी (टि आर ) आएपछि एकपटक नेपाल जान्छु अनि केही महिना बसेर रिफ्रेस भएर फर्कने योजना बनाएको छु । बाबाममीलाई पनि धेरै मिस गरेको छु” । 

उनी ऋण तिरेर सकेपछि सम्भव भए पढाइ अघि बढाउने सोचमा पनि रहिछन् । केही पैसा जोहो गरेर फर्कन सके नेपालमै ‘सेटल‘ हुने योजना रहेछ ।  भनिन् — “अहिले त बाध्यताले गर्दा बस्नु नै पर्यो दाइ, तर पछि त नेपालमै सेटल हुने हो, मलाई यहाँ बस्ने कुनै रहर  छैन ।”  
त्यसपछि अञ्जलीसँग छुट्टिने ठाउँ आयो । उनी आफ्नो बाटो लागिन् ।

वास्तवमा अञ्जलीजस्तै धेरै भाइबहिनी रहर वा भ्रममा विदेश आएर आफनो भविष्यलाई बन्धक बनाउन विवश भएका छन् । कतिले नसोचेको कष्ट बेहोरेका छन् त कति सोचेजस्तो नहुँदा गलत बाटोमा लागेका छन् । समयमै विचार नपुग्दा धेरैको खुसी तहसनहस भएको छ, परिवार बिघटन भएको छ । 

विदेश छिरेपछि कमाइ हालिन्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुन जरुरी छ । अझ विद्यार्थीले त आफू जान लागेको देशको नीति नियम, कलेजको सेवा सुविधा, शुल्क, पढाइ समयावधिजस्ता धेरै विषयमा जानकारी लिएरमात्र जानु उचित हुन्छ । हतारमा अमेरिका र युरोप भनेर निर्णय गर्ने र फुर्सदमा पछुताउने शैलीको अन्त्य गर्न जरुरी छ ।   

(हालः लिस्वन, पोर्तुगल)