उड्डयन ऐनलाई अगाडि बढाउने पर्यटन मन्त्रीको पहिलो निर्णय

काठमाडौं स् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उड्डयन सम्बन्धी पहिलो निर्णय लिएका छन् ।मन्त्री भट्टराईले उड्डयन ऐनलाई अगाडि बढाउने निर्णयलाई प्राथमीकतामा राखेका छन् ।


नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक गरी दुई भागमा छुट्टयाउने ऐनको मस्यौदामा अन्तरमन्त्रालयको सहमति माग्ने निर्णयमा नव नियुक्तमन्त्री भट्टराईले हस्ताक्षर गरेका छन्।
मन्त्रालयका सहप्रवक्ता प्रकाश ढकालका अनुसार गत साता मन्त्रिपरिषद्ले प्राधिकणरलाई नियामक र सेवा प्रदायक गरी दुईवटा संस्थामा छुट्टयाउने गरी नयाँ कानुन बनाउन दिएको सैद्धान्तिक स्वीकृतिलाई अगाडि बढाउँदै मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा अन्तरमन्त्रालयको सहमति माग्ने निर्णय भएको छ।

मन्त्रीले गृह, रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयको सहमति माग्ने निर्णयमा मन्त्रीले हस्ताक्षर गरेका छन्। गत साता मन्त्रिपरिषद्ले दुईवटा नयाँ कानुन बनाउने र सोही अनुसारको दुईवटा संस्था बनाउन बाटो खुला गरेको थियो। मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण बनाउने ऐन निर्माणको स्वीकृति दिएको थियो।