“भोका मान्छे”

कविता लेखिका सिता पौडेल चितवन हाल इजरायल

✍️ “भोका मान्छे”(कविता) इजरायल आइतबार २६ जेठ, २०७६

भगवान ! यो धर्तीमा
मनुष्यलाई कति थरीको
भोक दिएर पठायौ ?
गर्भ देखि खान थालेको
धर्तीमा जन्म लिएर
मृत्यु शैयासम्म पुग्दा पनि
कहिल्यै अघाउँदैन त मानिस !

पेटको भोको मात्र कहाँ होर
उ त वासनाको पनि भोको छ
वृद्धा र बालिका पनि छोड्दैन
उ यति भोको छ कि
आफ्नै छोरी
आफ्नै बहिनीलाई पनि
गिद्धले सिनो लुछे झैं लुच्छ
एउटा नरपिचास बनेर !

शिक्षा र चेतनाको कमीले ?
होइन होइन
शिक्षा र चेतनाको कमीले
बिलकुलै होइन भगवान
यो त मात्र एउटा बाहाना हो
यहाँ त ,
शिक्षीत र चेतनशीलहरु पनि
यति भोका छन् कि
अनेकौं बहानामा
लुटपाट, हिंसा र भ्रष्टाचार गरेर
देशलाई खोक्रो पारेर
सातौं पुस्ता सम्मलाई पुग्ने गरि
अकल्पनीय सम्पत्ति
हसुरी रहेछन् !

भगवान ! तिमीलाई थाहा छ
सग्ला हातखुट्टा , बल पाखुरी
हुँदाहुँदै पनि लुट्नको लागि
कति दरिद्र बन्दै छन्
मानवरुपी प्राणीहरु
मानवता र समवेदना हराएका
यी प्राणीहरुलाई
तिम्रो दरबारको अदालतमा
बिना घुस बिना भ्रष्टाचार को
उचित सजाय त हुन्छ नि भगवान ??

प्रकाशित आइतबार २६ जेठ, २०७६           ### ✍️ “भोका मान्छे”(कविता )                         ###                               ###