नाना पाटेकरको फिल्म खोसिँदा तनुश्री खुसी

 

यौन उत्पीडनको आरोपमा अभिनेता नाना पाटेकरलाई फिल्मबाट हटाइएकोमा अभिनेत्री तनुश्री दत्ताले खुसी व्यक्त गरेकी छन् । आफूमाथि भएको उत्पीडनको यो उपयुक्त परिणाम भएको यी अभिनेत्रीको कथन छ ।

फिल्म ‘हाउस फुल–४’मा अभिनेता नाना पाटेकर अनुबन्धित भएका थिए । छायांकनको तयारीमा रहेको यो फिल्मको निर्देशकमा साजिद खान थिए । फिल्मबाट नाना पाटेरकलाई दुई साताअघि नै हटाइएको छ । यसका निर्देशक साजिद खानलाई पनि फिल्मबाट हटाउने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ । किनकि, साजिद खानलाई अभिनेत्रीसहित महिला कलाकारले यौन उत्पीडनको आरोप लगाएका छन् ।

नाना पाटेरकलाई यो फिल्मबाट हटाइएको विषयमा तनुश्रीले भनेकी छिन्, ‘पाटेकरलाई फिल्मबाट हटाएकोमा खुसी भए पनि मैले कुनै उत्सव मनाएको छैन, मलाई दिएको पीडाका अझै धेरै दुःख पाटेकरले झेल्नुपर्नेछ, सजाय भोग्नुपर्नेछ ।’ नाना पाटेकर र साजिद खान भएकै कारण हाउस फुल–४ मा आफूले काम नगर्ने निर्णय अक्षय कुमारले लिएकोमा यो निर्णयलाई पनि आफूले स्वागत गरेको यी अभिनेत्रीको भनाइ छ ।

अरू अभिनेत्रीहरूले पनि यो विषयमा मुख खोलेकाले यसलाई अभियानकै रूपमा अझै अघि बढाउनका लागि पनि तनुश्रीले आह्वान गरेकी छन् । नाना पाटेकरलाई हाउस फुल–४ बाट हटाउनुको कारणबारे यो फिल्मका निर्माता साजिद नाडियाडवाला तनुश्री दत्ताको उत्पीडनलाई नै कारण देखाएका छन् । केही वर्षअघि फिल्मको छायांकनका क्रममा आफूलाई नाना पाटेकरले यौन उत्पीडन गरेको भन्दै अभिनेत्री तनुश्री दत्ताले ‘मि टु अभियान’अन्तर्गत पाटेकरविरुद्ध उजुरी गरेकी हुन् ।

अहिले हलिउडदेखि बलिउड हुँदै विश्वका विभिन्न देशमा आफू यौनपीडित भएका महिला तथा पुरुष कलाकारले ‘मि टु’ भन्दै यो अभियानलाई अघि बढाएका छन् । दशकअघि नाना पाटेकरले यौन उत्पीडन गरेको भन्दै तनुश्रीले सोही अभियानअन्तर्गत आवाज उठाएकी हुन् । एजेन्सी